सापु - नेपाली बालकहरुमा अचानक अन्धोपनको कारण

पटक पढिएको
सापु(अंग्रेजीमा: SHAPU) अथवा सिजनल हाइपरएक्यूट प्यानयुभीआइटिसलाई (Seasonal Hyperacute Panuveitis) सिजनल इन्डोफ्थाल्मैटिस (Seasonal endophthalmitis) सन् १९७५ बाट केवल नेपालबाट मात्र रिपोर्ट गरिएको एक रहस्यमय आँखाको रोग हो जसमा दृष्टि गुम्ने उच्च खतरा हुन्छ। युभिया (uvea) आँखाको मध्य तह हो र यो आँखाको सेतो भागको (स्क्लेरा) पछाडी र आँखाको पर्दाको (रेटिना) अघि अवस्थित हुन्छ। यस तहको सूजन हुनुलाई नै युभीआइटिस भनिन्छ।

सापुको कारक


सेतो पुतली (white tussock moth) सापुको सम्भावित कारण भएता पनि प्रमाणित भैसकेको छैन। नयाँ अनुसन्धानहरुले २ ओटा कुरा पत्ता लगाएको छ -

१. सापु र सेतो पुतली बिच सहसंबंध छ (केहिले सेतो पुतली सङ्ग सम्पर्कमा आएको विवरण दिएको र केहीको आँखामा पुतलीको रौँ भेटिएको)

२. किटाणुहरुको पनि यस रोगमा भूमिका रहेको हुनसक्छ (आँखाको पानीको जाँच गर्दा किटाणुहरु भेटिएको)

सापुको विशेषता

१. प्रमुख रुपमा बालबालिकाहरुलाई हुने

२. सेतो पुतलीको कारण हुने र केवल नेपालबाट मात्र रिपोर्ट गरिएको रोग

३. प्राय: एउटा आँखामा मात्र असर पर्छ र तिब्र रुपमा ज्योति गुम्न सक्छ; अर्को आँखामा र अर्को मान्छेमा सर्दैन

४. लक्षण देखिएको ४८ देखि ७२ घण्टाभित्रमा उपचार भएन भने आँखाको दृष्टि नै गुम्छ।

५. एक वर्ष बिराएर देखिने गरेको छ र मौसमी (सिजनल) ढाँचा देखिन्छ - वर्षा सकिएपछि र जाडो सुरु हुनुभन्दा अगाडि (भदौको अन्तिम सातादेखि मंसिर पहिलो सातासम्म)

सापुको लक्षणहरु


१. एउटा आँखा अचानक रातो हुनु (खासै नदुख्ने र चिप्रा नाउने)

२. आँखाको भित्री नानीको बीचमा सेतो देखिनु (लिउकोकोरिया; leukocoria)

३. भित्री भागमा पिप भरिनु (हाइपोपायोन; hypopyon)

४. आँखा भित्रको प्रेसर काम भई आँखा नरम हुनु (हैपोटोनी; hypotony)

५. अत्यन्तै छोटो समयमा ज्योति कम हुँदै जानु

सापुबाट बच्ने तरिका

१. सेतो पुतलीबाट बालबालिकालाई जोगाउने (पखेटाबाट झर्ने धुलो आँखामा पर्न नदिने)

२. सिएफएल चिमको प्रयोग सकेसम्म कम गर्ने (सेतो प्रकाश दिने सिएफएलमा सेता पुतली बढी झुम्मिने भएकाले)

३. झुल हालेर सुत्न

४. झ्याल ढोकामा जालि प्रयोग गर्ने

सापुको उपचार


लक्ष्यण देख्ना साथ ढिलाई नगरी आँखा अस्पताल वा उपचार केन्द्र लानुपर्छ। चिकित्सकहरुका अनुसार यो रोगको उपचारका लागि औषधिको प्रयोग प्रभावकारी मानिदैन। सुरुको अवस्थामा छ भने, आँखाभित्र इजेक्सन मात्रै हाले पुग्छ तर अन्तिम अवस्थामा भने शल्यक्रिया (भिट्रेक्टोमी) गरी आँखाभित्रको पिप नै सफा गर्नुपर्छ। यो शल्यक्रिया महँगो हुनुका साथै प्राबिधिक रुपले कठिन प्रक्रिया हो। ढिलागरी आएका मध्ये ५० प्रतिशतमा उपचारले काम नगरेपछि प्रभावितको आँखाको ज्योती गुम्न सक्छ। सापुबाट गुमेको आँखाको ज्योति पहिलेको अवस्थामा फर्काउन सकिदैन।

तपाईंको प्रतिक्रिया