डेजा वू (पूर्वानुभव भ्रम) - Deja Vu

पटक पढिएको
कुनै वर्तमान नयाँ घटनालाई पहिले नै देखेको वा अनुभव गरेको भावना अथवा भ्रमलाई नै 'डेजा वू' भनिन्छ। सुन्दा एकदम जटिल लागेपनि ७०% वा बढी जनसंख्याले कम से कम एक पटक अनुभव गर्ने यो एक धेरै साधारण अनुभव हो। यसको २० वा बढी प्रकारहरु छन्। 'जमैस वू' यसको विपरित अनुभव हो जसमा परिचित हुनुपर्ने घटना अचानक अपरिचित लाग्छ। यसको कारण पछाडी विभिन्न सिद्धान्तहरु छन् -


क) आध्यात्मिक सिद्धान्तहरु


१. पूर्वजन्मको यादहरु

२. दिव्यदृष्टि

३. समान्तर ब्रम्हाण्ड (प्यारलाल युनिभर्स)

४. सपनामा देखिएको भविष्य (प्रिकोग्निटिभ ड्रिम्स)

ख) बैज्ञानिक सिद्धान्तहरु


१. उस्तै घटना वा ठाउँको अधिव्यापन: क्याम्ब्रिजको मेसाचुसेट्स टेक्नोलोजी इन्स्टीट्यूटमा वैज्ञानिकहरुले दिमागको एक भाग को खोजि गरेका छन् जुन डेजा वूको लागि जिम्मेदार छ। दिमागको हिप्पोकैम्पसले नयाँ ठाउँ र अनुभवहरूको मानसिक नक्सा बनाउन र पछिको प्रयोगको लागि तिनीहरूलाई भण्डारन गर्ने कार्य गर्दछ। उनीहरूले विश्वास गर्छन् कि बेलाबेलामा दुई घटना वा ठाउँहरू एक अर्कासँग समान हुन्छन्, तसर्थः ओभरलैप हुन्छ र यसकारण डेजा वूको अनुभव हुन्छ।

२. दृष्टि मार्गको विलम्ब: यदि तपाईंको २ आँखाले एउटै घटना देख्यो भने, तर केही कारण दृष्टिको सन्देश तपाईंको मस्तिष्कमा एउटा आँखाबाट भन्दा अर्को आँखाबाट पुग्न ढिलाई भए दिमागले २ पटक त्यसलाई प्रक्रियामा लग्न सक्छ। १/१००० सेकण्ड समयको अन्तर भएपनि तपाईंलाई पहिले नै देखिसकेको महसुस गर्नुहुन्छ। तर, अन्धो व्यक्तिहरुमा पनि डेजा वू हुनुले यस सिद्धान्त पूर्ण रुपमा ठिक नवएको देखाउँछ।

३. अल्पकालिक र दीर्घकालीन स्मृतिको बीच अत्याधिक संचार: जब वर्तमानको धारणा गलत रूपमा parahippocampal gyrus र यसको मस्तिष्कको जडानहरू (अतीतका सम्झनाहरू पहिचान गर्नको लागी जिम्मेवार मेमोरी प्रणाली) मार्फत फिल्टर हुन्छ, हालको क्षण अतीत स्मृति जस्तो महसुस हुन्छ।

४. होलोग्राम सिद्धान्त: मस्तिष्कले हालको अनुभवको पूर्ण चित्र सिर्जना गर्न सबै इन्द्रियहरुबाट जानकारी गठित गर्ने प्रयासमा, अतीतका अनुभवहरूसँग समान वा सम्बन्धित विवरणहरू जस्तै समान गंध, हेराइ वा ध्वनिलाई दीर्घकालिन मेमोरीबाट पुनः प्राप्त गरेर ल्याउँदछ। अतीतका सम्झनाहरुबाट यी छापहरु नयाँ अनुभवको छाप सङ्ग ओवरलैप हुँदा यो दीर्घकालिन मेमोरीबाट आएको प्रतीत हुन्छ।


डेजा वू र रोगको सम्बन्ध

प्राय जसो निरोगी अवस्थामा यसको अनुभूति हुने भएता पनि डेजा वूको अनुभव निम्न रोगहरुमा पनि हुने पाइएको छ -

१. टेम्पोरल लोब एपिलेप्सी (एक प्रकारको छरे रोग)

२. स्किजोफ्रेनिया (एक प्रकारको मानसिक रोग)

३. माइग्रेन (एक प्रकारको टाउको दुख्ने समस्या)

४. लागु औसध सेवन

५. भावनात्मक तनाव

६. भास्कुलर डेमेन्सिया

डेजा वू एक न्यूरोलोजिकल समस्या हुन सक्छ जब यो:

१. पटक पटक भैरहन्छ

२. असामान्य सपना जस्तै - सम्झनाहरू वा दृश्यहरु संगै अनुभव भए

३. बेहोसी संगै देखा परे

४. मुटु छिटो चलेको , या डरको भावना महसुस भए

मानिसहरुको डेजा वूको अनुभवहरु यस लेखको प्रतिक्रिया खण्डमा पढ्न सक्नुहुन्छ - Deja Vu Scientifically Explained


लेखकको बारे:

डा. सुलभ कुमार श्रेष्ठ (एम.बि.बि.एस)

सामाजिक संजाल: Twitter | Facebook | Google Plus

तपाईंको प्रतिक्रिया