मृत शरीर जीवित रहेको भ्रम किन हुन्छ?

पटक पढिएको

मृत्यु र मृत्यु पश्चात मृत शरीरमा हुने परिवर्तनहरू जटिल प्रक्रिया हो। मृत्यु पछि तुरुन्तै शरीर नरम हुने प्रक्रियामा शरीरका मांसपेशीहरूले टोन गुमाउँछन्। यसरी नरम अवस्थामा पुगेको मांसपेशी सामान्यतया मृत्यु पश्चात ३-४ घण्टा पछि कडा हुन थाल्छ। यस प्रक्रिया लाई "राइगर मोर्टिस" भनिन्छ। मृत शरीर यस अवस्थामा ६० घण्टा सम्म रहन सक्छ। राइगर मोर्टिसको अवस्थामा शरीर कडा हुन्छ र धेरै नै दुर्लभ अवस्थामा शरीरका साना मांसपेशीहरु (जस्तै - औंला) चल्न सक्छन। यसको कारण हो - विभिन्न मांसपेशी समुहहरुमा राइगर शुरुवात हुनुमा अनियमितता। जब कुनै मांसपेशीहरु अरु मान्स्पेशिहरु भन्दा पहिला कडा हुन थाल्छ तब शरीरको विभिन्न भागमा स-साना हर्कतहरु देखिन सक्छ, जस्तै - औँला वा हातको झड्का।

जसरी चिसो अथवा उत्तेजित अवस्थामा छालाका साना साना भागहरु माथि उठेको देखिन्छ, मृत्यु पश्चात पनि यो देख्न सकिन्छ। ठ्याक्कै भन्नुपर्दा हिन्दीमा  यसलाई 'रोंगते खडा होना' भनेर भनिन्छ। यस्तो हुनुको पछाडी पनि "राइगर" नै जिम्मेवार छ। अरु मांसपेशी जस्तै कपालको रोम पनि खुम्चिने हुँदा यस्तो दृश्य देख्न सकिन्छ।

मृत्युको २४-७२ घण्टा पश्चात श्वासप्रश्वास र मुटुको चाल रोकिएको कारण शरीरमा अक्सिजनको कमि हुन्छ तर हाम्रो पाचन नली तथा श्वसन नालीमा रहेका किटाणु तथा जिवानुहरु जीवित नै रहन्छन्। यिनीहरुले 'एनेरोबिक' चयापचयको (अक्सिजन आवश्यक नपर्ने) माध्यमले, शरीरलाई गलाउन शुरु गर्छ र यस प्रक्रियामा धेरै प्रकारका ग्याँसहरुको उत्पादनको हुन्छ जसको कारण मृत शरीर फुल्नुका साथै गनाउन थाल्छ। जब आन्तरिक क्याभिटिमा दबाब पर्याप्त मात्रामा बढ्छ, ग्याँसहरु शरीरको विभिन्न प्वालबाट बाहिर निस्किन्छ र यसै प्रक्रियामा पाद र डकारको अवाज सुन्न सकिन्छ। दुर्लभ अवस्थामा फोक्सोबाट निक्स्केको हावाले रोएको/बर्बराएको जस्तो अवाज वा श्वास बाहिर फालेको भ्रम सिर्जना गर्न सक्छ।

दिशा र पिसाब गर्ने प्रक्रियालाई स्वेच्छिक बनाउने काम मस्तिष्कले गर्छ। कुनै कुनै प्यारालाइसिसको बिरामीले दिशा-पिसाबलाई नियन्त्रनमा राख्न नसके जस्तै मस्तिष्कले काम गर्ने छोडेपछि यो प्रक्रिया अस्वेच्छिक हुन्छ। थप यो उत्पादन भएको ग्याँसको दबाब र नरम भएको मलद्वार र मूत्रद्वारको मांसपेशीको कारण मृत शरीरबाट दिशा/पिसाब निस्किन सक्छ

त्यस्तै "ब्रेन-डेड" बिरामीहरु जसमा अरु अङ्गहरुलाई विभिन्न उपकरणको प्रयोगले जीवित नै राखिएको हुन्छ; यस्ता बिरामीहरुमा पनि "ल्याजारस रिफ्लेक्स" को कारण कहिले काहिँ बिरामीले अचानक हात उठाएर छातीमा झार्न सक्छन्।

तपाईंको प्रतिक्रिया