हिप्पोक्रेटिक शपथको नेपाली अनुवाद (Nepali Translation of Hippocratic Oath)

पटक पढिएको

म अपोलो फिजिसियन र आस्क्लेपियस र हाइजिया र पानाकिया र सबै देवीदेवताहरूको नाउँमा कसम खान्छु अनि तिनीहरूलाई साक्षी बनाउँदै भन्छु कि मेरो क्षमता र विवेकअनुसार म यो शपथ र यो करार पूरा गर्नेछु: 

मलाई यो कला सिकाउने व्यक्ति⁠लाई मेरो आमाबाबु सरह ठान्नेछु, तिनलाई सहयोग गर्दै मेरो जीवन बिताउनेछु, तिनलाई पैसाको खाँचो परेको बेला मेरो केही भाग दिनेछु, तिनका सन्तानलाई मेरो पुरुष वंशका भाइहरू सरह ठान्नेछु, तिनीहरू सिक्न चाहन्छन्‌ भने तिनीहरूलाई यो कला सिकाउनेछु, कुनै शुल्क लिनेछैन र करारनामा गर्नेछैन; सबै नियम तथा मौखिक निर्देशनहरू मेरा छोराहरू अनि मलाई सिकाउनेका छोराहरू तथा विद्यार्थीहरूलाई दिनेछु जसले यो करारमा हस्ताक्षर गरेका छन्‌ अनि चिकित्सा नियमअनुसार यो शपथ लिएका छन्‌ तर यसबाहेक अरू कसैलाई दिनेछैन।

मेरो क्षमता र विवेकअनुसार बिरामीहरूको हितको लागि भोजनसम्बन्धी तरिकाहरू अपनाउनेछु; म तिनीहरूलाई हानि र अन्यायबाट जोगाउनेछु।

मसँग कसैले मागेको खण्डमा पनि घातक औषधी दिनेछैन अनि यसो गर्न अरू कसैलाई सुझाव दिनेछैन। त्यसरी नै म कुनै स्त्रीको गर्भपतन गराउने तरिका अप⁠नाउनेछैन। शुद्धता र पवित्रतामा मैले मेरो जीवन र कलाको संर⁠क्षण गर्नेछु।

मैले पत्थरीका रोगीहरूको उपचार गर्नसमेत छुरा प्रयोग गर्नेछैन तर त्यसै काममा लागेका मानिसहरूको खातिर म यो कार्य गर्नदेखि पछि हट्‌नेछु।

म जुनसुकै घरमा गए तापनि बिरामीहरूको हित गर्नेछु, जानाजानी कुनै किसिमको अन्याय गर्नेछैन अनि चाहे तिनीहरू स्वतन्त्र वा दासहरू हुन्‌, पुरुष र स्त्री, तिनीहरूसित कुनै किसिमको बद⁠मासी र खास गरी यौन सम्बन्ध राख्नेछैन।

मैले उपचारको दौडान वा त्यसबाहेक पनि मानिसहरूको जीवनबारे जे देख्छु वा सुन्छु, त्यो कुनै हालतमा बाहिर फैलाउनु उचित हुनेछैन अनि त्यस्ता कुराहरू अरूलाई बताउँदै हिंड्‌नु लज्जास्पद ठान्नेछु।

मैले यो शपथ पूरा गरें र यसलाई तोडिनँ भने मलाई जीवन र कलाको आनन्द उठाउने मौका दिइयोस्, आगामी सारा दिनहरूमा मानिसहरूमाझ सम्मान पाऊँ; मैले गल्ती गरें र झूटो कसम खाएँ भने यी सबैको ठीक विपरीत विपत्ति मेरो भागमा परोस्।

तपाईंको प्रतिक्रिया